काठमाडौँ, २६ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गर्नुभएको छ ।
नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले उक्त बेसिनको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुबान र सिँचाइको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री खड्काले पश्चिम नवलपरासीमा आफू मन्त्री भएपछि दोस्रोपटक आएको र यहाँका समस्यासँग आफू जानकार रहेको बताउनुभयो ।
कार्यक्रममा पश्चिम नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरीले अब साबिकभन्दा नहरबाट पाँच गुणा बढी भूमिमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि किसान लाभान्वित हुने बताउनुभयो ।
नेपाल गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिन रू ३५ करोड लागतको परियोजनामा अढाई वर्षमा सम्पन्न भएको हो । विक्रम संवत् २०३९ मा निर्माण भएको नहरको सिँचाइ क्षमता आठ हजार ७०० हेक्टर क्षेत्रफल भए पनि मुहानमै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिँचाइ हुँदै आएको थियो ।
आज उद्घाटन भएको सेटलिङ्ग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिनाका साथै आठ हजार ७०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।