काठमाडौँ, १३ असारः वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथयात्रा आज हर्षाेल्लाससहित मनाइएको छ । गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा आज बिहान ७ः३० बजेदेखि रथयात्रा शुभारम्भ गरेर वीरगञ्जका मुख्यमुख्य चोक परिक्रममा गरेर फेरि मन्दिर प्राङ्गणमा आएर रथयात्रा समापन भएको हो ।
बाजागाजा, झाँकी, डिजेसहित रथयात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भएर घण्टाघर, रेल्वेरोड, स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिक हुँदै श्रीराम सिनेमाहल विर्तामाई दुर्गा मन्दिर, अलखिया मठमन्दिर, राणीसती, आदर्शनगर, महावीर मन्दिर हुँदै पुनःगहवामाई मन्दिरमा आएर रथयात्रा टुङ्गिएको हो ।
रथयात्रामा हजारौँ श्रद्धालु भक्तजनको उपस्थिति थियो । जसमा महिला, बालबालिका र अन्य समूहका दशनार्थीको घुइँचो देखिन्थ्यो । रथयात्रा आषाढ शुक्ल पक्ष द्वितीया तिथीका दिन गर्ने गरिन्छ ।
समितिका अध्यक्ष श्यामकुमार पोखरेलले शुक्रबार भव्य कार्यक्रमबीच गहवामाईको तेस्रो रथयात्रा गरिएको जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले गहवामाईको रथयात्रा समापन भए पनि अत्यधिक दशनार्थीको चाप भने विस्तारै घट्ने क्रममा रहेको जानकारी दिनुभयो ।
समितिले रथयात्रालाई व्यवस्थित र मर्यादित गराउन विभिन्न नौ उपसमिति गठन गरेर व्यवस्थित गरेको जनाएको छ ।
धार्मिक समन्वय उपसमितिको संयोजक डा पुरुषोत्तम दुवेले यसपालीको रथयात्रामा करिब एक लाख दशनार्थी सहभागी भएको दाबी गर्नुभयो ।
मधेस प्रदेशमा नै चर्चित रथयात्रा भएकाले रथयात्रामा साधुसन्त, महिलाको उल्लेखनीय सहभागिता रहेको बताइएको छ ।