सरकारको प्राथमिकतामा युवालाई स्वदेशमै रोजगारीको अवसर : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन ७ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर युवालाई रोक्नु रहेको बताउनुभएको छ। उहाँले वैदेशिक रोजगारीबाट फर्किएकालाई पुँजी, सीप र अनुभवको आधारमा उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले विस २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको स्पष्ट पार्नुभयो।

कृषि, उद्योग, पर्यटन, ऊर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठुलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने उहाँको भनाइ छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमको रुपमा पुनर्संरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको उहाँले प्रष्ट पार्नुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, “वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्षित गरी हाल कोशी र मधेश प्रदेशका २० पालिकामा रेमी परियोजनाअन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ।जेन जी पुस्तालाई लक्षित गरी स्टार्ट अप, नवप्रवर्तन कार्यक्रममार्फत उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।’’

उहाँले तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारका घटना सहन नसकिने उल्लेख गर्दै कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ दिनुभयो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार