देखिनेगरी काम गरेमा पद र प्रतिनिधित्व सहजै पाइन्छ: मन्त्री गुरुङ

लेखनाथ, फागुन ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनता र नेतृत्वले देख्नेगरी काम गरेमा पद र प्रतिनिधित्व सजिलै प्राप्त हुने बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ गण्डकी प्रदेश कमिटीको बिहीबार सुरु भएको दोस्रो सम्मेलनमा उहाँले अहिलेकै आरक्षण र प्रतिनिधित्वमा चुप लागेर बसे जनसङ्ख्याको आधारमा प्रतिनिधित्व र अधिकारको एजेन्डा पछिपर्ने बताउनुभयो ।

योजनासहित नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “पार्टीले देख्नेगरी काम गर्नुस्, क्षमता देखाउनुस् । चरामा पनि मयूर बन्नुस् ।” नेकपा ९एमाले० का उपमहासचिवसमेत रहनुभएका मन्त्री गुरुङले राजनीतिक आन्दोलन सकिएको जनाउँदै अब सशक्तीकरण, समृद्धि र विकासमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

युवाको सक्रिय सहभागिताबिना राजनीतिअघि बढ्न नसक्ने जनाउँदै उहाँले जनसङ्गठनमा युवाको उपस्थिति कम देखिएको औंल्याउनुभयो । “यहाँ हजुरआमा, आमाहरु धेरै हुनुहुन्छ । एमालेभित्र युवाको अभाव देखियो” मन्त्री गुरुङले भन्नुभयो, “तपाईंहरूका छोरी, भान्जीहरूलाई किन यहाँ ल्याउन र आकर्षित गर्न सकिएन रु”

महिलालाई राज्य र सरकारका विभिन्न तहमा अवसर कसैले दिने नभई आफैंले क्षमता विकास गरी त्यसमा दाबा गर्नुपर्नेमा उहाँको जोड छ । “योजना बनाउनु होस्, सुशासन र जनसम्बन्धमा पनि हामी पुरुषभन्दा कम छैनौँ भन्ने देखाउनु होस्,” मन्त्री गुरुङले भन्नुभयो, “आउने चुनावमा कति वटा वडाध्यक्ष महिला लड्ने, कुन कुन पालिकामा उपाध्यक्ष, उपमेयर होइन, प्रमुख नै माग्ने भन्ने योजना बनाउनु होस् ।”

पछिल्लो समय अध्ययन गर्ने संस्कृति घटेको भन्दै उहाँले अध्ययनबिना कोही नेता बन्न नसक्ने विचार राख्नुभयो । २०८४ को आमनिर्वाचनमा एमालेलाई सुविधाजनक बहुमत दिलाउनेगरी काम गर्न उहाँले निर्देशन दिनुभयो । “सुविधाजनक बहुमत ल्याउन प्रत्यक्षमा कमसेकम एक सय र समानुपातिकमा ४० प्रतिशत मत ल्याउनुपर्छ । त्यसको आधार तपाईंहरू हो” उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशका ६० सिटमध्ये २० प्रत्यक्ष र १५ समानुपातिक गरी कमसेकम ३५ सिट जित्नेगरी योजना बनाउने उहाँले आग्रह गर्नुभयो । एमाले अहिले पनि चौतर्फी घेराबन्दीमा रहेको दाबी गर्दै उहाँले जनसङ्गठनहरूले त्यसलाई तोड्नुपर्ने धारणा राख्नुभयो ।

“देशको अरू सबै वामपन्थीहरू एमालेविरुद्धमा छन् । कांग्रेससँग सरकारमा गठबन्धन भए पनि अन्त सबैतिर प्रतिस्पर्धा नै भइरहेको छ” उहाँले भन्नुभयो, “यस हिसाबले एमालेविरुद्ध अहिले पनि चौतर्फी घेराबन्दी छ ।”

नेकपा ९एमाले० मा अहिले नेतृत्वका लागि वर्तमान अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नरहेको उहाँले उल्लेख गर्नुभयो । “हामी हिड्नुपर्ने मूल बाटोमै हो । अरुको उक्साहटमा आएर नेतृत्वमा दाबी गर्ने प्रवृत्तिलाई मैले पचाउन सकिनँ” मन्त्री गुरुङले भन्नुभयो, “हुन त सबैको, देशकै आवश्यकता हो । कमसेकम एमालेमा अहिले ओलीको विकल्प देखिएन ।”

कार्यक्रममा नेकपा ९एमाले० जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले केन्द्रीय समितिमा सबैभन्दा धेरै प्रतिनिधित्व भएको महिला सङ्घले सङ्गठन निर्माण र पार्टीको नीति जनस्तरसम्म लैजान अझ बढी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष टुकाभद्रा हमालले सङ्गठनभित्र रचनात्मक एकता कायम गर्दै जनसङ्ख्याकै आधारमा प्रतिनिधित्व हुने अवस्था निर्माण गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्घाटन सत्रमा अखिल नेपाल महिला सङ्घ गण्डकी अध्यक्ष हीराकुमारी गिरी, सचिव खरमाया बिटालु, कोषाध्यक्ष अञ्जु केसी लगायतले बोल्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार