नर्वे सरकारले युक्रेनलाई प्रदान गर्दै आएको सहायता यस वर्ष पनि यथावत् राख्ने प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री जोनास गार स्टोरेको कार्यालयका अनुसार आउँदो वर्षका लागि ८५ अर्ब नर्वेजियन क्रोनर (झन्डै ८ अर्ब ४० करोड अमेरिकी डलर) बराबरको सैन्य तथा नागरिक सहायता प्रस्तावित गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।
यो प्रस्ताव प्रधानमन्त्री स्टोरेको युक्रेन भ्रमणका अवसरमा सार्वजनिक गरिएको हो । यो प्रस्ताव संसद्बाट पारित भएमा सन् २०२३ देखि २०३० सम्म नर्वेले युक्रेनलाई दिने कुल सहायता २७ अर्ब १० करोड डलर पुग्नेछ ।
युक्रेनले आफ्नो स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न सङ्घर्ष गरिरहेकै बेला नर्वेको निरन्तर सहयोग अपरिहार्य रहेको प्रधानमन्त्री स्टोरेले बताउनुभएको खबरमा उल्लेख छ ।
उहाँले अहिलेको अवस्थामा युक्रेनप्रति दृढ राजनीतिक, आर्थिक र सैन्य समर्थन दोहो¥याउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
यो सहायता प्रस्ताव आउँदो अक्टोबर महिनामा प्रस्तुत हुने २०२६ को राष्ट्रिय बजेटमा समावेश गरिनेछ । यद्यपि प्रस्तावलाई संसद्ले अनुमोदन गर्नुपर्नेछ ।
नर्वेले आउँदो सेप्टेम्बर ९ मा संसदीय चुनाव गर्न लागेको सन्दर्भमा यो प्रस्ताव सार्वजनिक भएको हो ।
यसबाहेक नर्वेले आइतवार घोषणा गरेको अनुसार युक्रेनको हवाई सुरक्षा बलियो बनाउन झन्डै ७ अर्ब क्रोनर विनियोजन गरिनेछ । यस अन्तर्गत जर्मनीसँगको सहकार्यमा २ वटा पेट्रियट हवाई रक्षा प्रणाली खरिद गरिने योजना बनाइएको छ ।