‘झोले’ शब्द अहिले नेपाली सामाजिक-राजनीतिक परिवेशमा अत्यन्तै चर्चित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म झोले हुँ, जनताको झोले’ भनेर सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा यो शब्द झनै तातिएको छ ।
‘झोले’ नेपाली राजनीतिक र सामाजिक बहसमा एउटा चर्चित, विवादास्पद र बहुआयामिक शब्द हो । कहिलेकाहीँ उपहासको औजार, कहिले निष्ठाको प्रतीकका रूपमा यो शब्द आइरहन्छ । पछिल्लो समय प्रधानमन्त्रीको अभिव्यक्ति र एमाले नेता/कार्यकर्ताले ट्रेन्डिङ बनाएपछि यो शब्द पुनः चर्चा र बहसको केन्द्रमा छ ।
‘झोले’ शब्द खोज्दै जाँदा नेपाली बोलीचालीको भाषाबाट आएको देखिन्छ । यसको मूल अर्थ ‘झोला बोकेर हिँड्ने व्यक्ति’ भन्ने नै हुन्छ । यसको सुरुवाती प्रयोग गाउँघरको जीवनशैली र विकास प्रक्रियासँग गाँसिएको छ ।
कुनै बेला जब विकासको नाममा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, एनजीओ वा आईएनजीओको टोली गाउँतिर जान्थे, तिनीहरूका झोला, पोका, दबाइ, कागजात, उपकरण आदि बोकेर हिँड्ने सहयोगी वा स्थानीय कामदारहरूलाई सामान्य रूपमा ‘झोले’ भनिन्थ्यो ।
यी ‘झोले’ हरू न विकास योजनाको नेता हुन्थे, न त निर्णायक नै । तर उनीहरू मैदानका वास्तविक कार्यकर्ता थिए, जो चर्को घाम, वर्षा र भोक-तिर्खासँग लड्दै गाउँ-बस्ती डुलिहिँड्थे । त्यो समयमा ‘झोले’ भन्ने शब्दमा उपहास थिएन । बरु मिहिनेती र सहयोगीको पर्याय मानिन्थ्यो ।
तर, समयसँगै यो शब्दको प्रयोगमा व्यंग्य मिसिँदै गयो । यो शब्द राजनीतिमा मिसियो । समय क्रममा, राजनीतिक कार्यकर्ता र नेताको पछि लाग्नेलाई पनि ‘झोले’ भन्न थालियो । तर यसरी राजनीतिमा झोले शब्द छिर्दा, यसको अर्थ र भावनामा परिवर्तन आयो । जसले ‘अन्धसमर्पण’, ‘भक्तिगान’ वा ‘बिना सोचका साथ समर्थन’ जस्ता अर्थ बोक्न थाल्यो ।
हिजो राजनीतिक व्याख्याभन्दा फरक, सरल र मिहिनेतमा जोडिएको झोले शब्दको सामाजिक इतिहास बदलियो । राजनीतिमा नेताको पछि लाग्ने, आदेशपालक, गुनासो नगर्ने, विवेकहीन कार्यकर्तालाई ‘झोले’ भनेर उपहास गरियो । राजनीतिक अन्धभक्तलाई इंगित गर्ने प्रचलन बन्यो ।
राजनीतिभित्र झोले संस्कृतिको विकास
नेपालको राजनीतिक इतिहास, खासगरी बहुदलपश्चात्को कालखण्डमा, नेताप्रतिको समर्पण र कार्यकर्ताको ‘झोले’ प्रवृत्ति एकसाथ विकसित भएको पाइन्छ । कार्यकर्ता नेताको झोला बोकेर हिँड्ने, सभा-सेमिनारमा साथ दिने, पोस्टर टाँस्ने, झन्डा फहराउने र प्रचार-प्रसारमा जुट्ने परिपाटी सशक्त हुन थाल्यो ।
यस्तो कार्यशैलीमाथि समय क्रममा आलोचना पनि हुन थाल्यो । यही शब्द एउटै समय समाजको राजनीतिक दलभित्र भने समर्पण, संगठनप्रति निष्ठा र संघर्षशील कार्यकर्ताको पहिचान पनि बन्न पुग्यो । त्यसैले ‘झोले’ एकातिर आलोचना, अर्कातिर गौरव एकसाथ सुसुप्त बहसमा आइरहेको थियो ।