२० जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा खड्ग केसीको कार्यकक्षमा भएको तोडफोडको विषयमा प्रहरीले किटानी जाहेरी मागेको छ ।
गत १४ जेठमा नेविसघं निकट विद्यार्थीहरूले उपकुलपति केसीको कार्यकक्षमा तोडफोड गरेका थिए । त्रिविले घटनाको अनुसन्धान गर्न प्रहरी वृत कीर्तिपुरमा निवेदन दिएको छ । तर, प्रहरीले किटानी जाहेरी माग गरेको छ ।
‘किटानी जाहेरी आएको छैन । किटानी जाहेरी दिन त्रिविलाई पत्र लेखेर पठाएका छौँ । जाहेरी बिना अगाडि बढ्न अफ्ठ्यारो भएको हो,’ प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले भने ।
सीसीटीभी फुटेजको आधारमा अनुसन्धान भने भइरहेको वृत्तले जनाएको छ । स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए । उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो ।