सत्तासाझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैन : प्रधानमन्त्री

काठमाडौँ, २५ जेठ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्तासाझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गर्नुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेबीचको सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने दोहोर्याउनुभयो  ।
प्रविधिको वर्तमान युगमा सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीले ‘एमालेको जनताको बहुदलीय जनवाद र समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभिभारा पूरा गराउने अभियानमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थी आन्दोलन र खासगरी अनेरास्ववियुको अगुवाइमा २०३६ सालमा जनमत सङ्ग्रहको घोषणा गर्न बाध्य बनाउने यही सङ्गठन भएको र आफूहरुले नै देशमा साँच्चैको लोकतन्त्र र गणतन्त्र ल्याउन बलिदान गरेको स्मरण गर्नुभयो ।
उहाँले गणतन्त्रको रक्षा, सुदृढ र गतिशील तुल्याउन विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दीजस्ता हिंसात्मक क्रियाकलाप गर्न अनेरास्ववियुका लागि छुट नहुने बताउँदै उहाँले सङ्गठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवार सङ्गठनका रुपमा रहन निर्देश गर्नुभयो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार