काठमाडौँ, २८ जेठःचितवनको भरतपुर अस्पतालले सञ्चालन गरेको ब्लड बैंक (रक्त सञ्चार केन्द्र) ले अस्पतालको मागको आधा रगत आपूर्ति गर्दै आएको छ ।
अस्पतालमा दैनिक ६० युनिट हाराहारी रगत माग हुने गरेकामा ३० युनिट हाराहारी अस्पताल आफैले व्यवस्थापन गर्दै आएको हो ।
ब्लड बैंकका इञ्चार्ज विष्णुप्रसाद बाँस्तोलाका अनुसार गत वर्षको जेठ २ गतेबाट सञ्चालनमा आएको ब्लड बैंकमा हालसम्म दुई हजार ४०० युनिट (पोका) रगत सङ्कलन गरेर वितरण गरिएको छ ।
आफैँ विभिन्न ठाउँमा पुगेर रगत सङ्कलन गर्ने गरेको उहाँले बताउनुभयो ।
ब्लड बैंकले अस्पताल परिसरमै नियमितजसो रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
बाँस्तोलाका अनुसार विगतमा साप्ताहिक रुपमा कार्यक्रम आयोजना गरिँदै आएकामा गत चैतदेखि एक दिन बिराएर कार्यक्रम आयोजना गरिंदै आएको छ ।
अस्पताल जाने बिरामीका आफन्तले रक्तदान गर्ने गरेको उहाँले बताउनुभयो । यसरी कार्यक्रम आयोजना गर्दा प्रत्येक कार्यक्रमबाट ३० देखि ३५ युनिट रगत सङ्कलन हुने गरेको छ । थप जनचेतना जगाउन सके रक्तदानको सङ्ख्या थपिने उहाँको भनाइ छ ।
भरतपुर अस्पतालमा दैनिक ६० युनिट हाराहारी रगतको माग हुने भन्दै उहाँले ५० प्रतिशत मात्रै आपूर्ति गर्न सकिएको बताउनुभयो ।
बाँकी ५० प्रतिशत हाराहारी रगत नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरबाट आफूर्ति हुने गरेको उहाँले जानकारी दिनुभयो ।
हाल अस्पतालको ब्लड बैंकबाट होल ब्लड, प्लेटलेटयुक्त सेतो प्लाज्मा (पिआरपि), प्याक सेल भोलुम (पिसिभी) र फ्रेस फ्रोजन प्लाज्मा (एफएफपि) समेत दिने गरिएको छ ।
बिरामीको आवश्यकताअनुसार यस्तो रगत दिने गरिएको बाँस्तोलाको भनाइ छ । हाल अस्पतालमा ५०० युनिट रगत सुरक्षित राख्ने क्षमता रहेको छ ।