साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधारः परराष्ट्रमन्त्री

काठमाडौँ, २९ जेठः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताउनुभएको छ ।

नेपाल–भारत रणनीतिक संवादसम्बन्धी आज काठमाडौँमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपाल–भारत बीच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीब्रता दिई कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत् समृद्धिमा रूपान्तरण गर्ने समय आएको उहाँको भनाइ थियो ।

नेपाल–भारत सम्बन्ध सभ्यताको सुरुवातमा राखिएका जगहरूमा निर्मित रहेका प्रसंग उल्लेख गर्दै मन्त्री डा राणाले हाम्रा नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति र भावनामा आधारित रहेकाले उनीहरुबीचको जनसम्पर्क, सहकार्य र कनेक्टिभिटीले नै दुवै देशको समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री डा राणाले हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताउँदै अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरुलाई साझा रुपमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समयमा ऊर्जा क्षेत्र दुई देशबीचको सहयोगको प्रमुख उदाहरणका रूपमा रहेको बताउँदै मन्त्री डा राणाले नेपालको विशाल जलविद्युत सम्भावनाले स्वच्छ, नवीकरणीय ऊर्जा स्रोत प्रदान गर्ने र यो आउने पुस्ताका लागि उपयोगी हुने बताउनुभयो ।

आगामी दशकमा नेपालबाट १० हजार मेगावाट विद्युत आयात गर्ने भारतको प्रतिबद्धताले नेपाल–भारत ऊर्जा सहयोगको प्रतितिधित्व गरेको बताउँदै नेपाल र भारतले पारस्परिक रूपमा प्रसारण अन्तरसम्बन्ध, ग्रिड कनेक्टिभिटी र विद्युत् आदानप्रदान, सीमापार बिजुली व्यापार विकास गर्ने सहित विद्युत क्षेत्रमा सहयोगलाई थप मजबुत बनाएका प्रसंग पनि उहाँले उल्लेख गर्नुभयो ।

नेपालले आफ्ना छिमेकी र मित्रहरूसँगको साझेदारीमा नयाँ युगमा शान्ति, स्थिरता र समृद्धिको भविष्यको अपेक्षा गरेको बताउँदै मन्त्री डा राणाले यस प्रकारका प्लेटफर्महरुले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाई विचारहरुको आदानप्रदानलाई प्रवर्धन गर्ने र जनता जनता बीचको सम्पर्कलाई थप मजबुद बनाउन सहयोग पुर्याउने धारणा राख्नुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार