स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौँ, असार ४ गते । अन्तर्राष्ट्रिय त्रिकोणत्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित हात पारेको छ ।

स्कटल्यान्डको टिटउट रङ्गशालामा मङ्गलबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हरायो । जितका लागि ९८ रनको सहज लक्ष्य पाएको नेपालले अन्तिममा जितका लागि कठिन सङ्घर्ष गर्नुपरेको थियो ।

यसअघि सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर पराजित भएको थियो । नेपालले आफ्नो एक सयौँ अन्तर्राष्ट्रिय टी–२० मा १९.५ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाउनुभयो । यस्तै दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोड्नुभया ।

बलिङमा स्कटल्यान्डका सफ्यान शरिफ र माइकल लिस्कले दुई दुई विकेट लिनुभयो । यस्तै मार्क वाट, ज्याक जार्विस र ज्यास्पर डेभिडसनले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ९७ रन बनाएको थियो ।

स्कटल्यान्डका लागि माइकल लिस्कले ४६ रन बनाउनुभयो । यस्तै कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका सन्दीप लामिछानेले चार जिकेटअ लिनुभयो । करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा ललितनारायण राजवंशीले एक विकेट झार्नुभयो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार