कल्याणपुर (सप्तरी), साउन २६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सप्तरीको राजगढ गाउँपालिका– २ कमलपुरमा प्रहरीको गोलीबाट मारिएका लालु यादवको घरमा पुगेर घटनाबारे जानकारी लिनुभएको छ ।
मृतक यादवको घर र घटनास्थलमा पुगेर मुख्यमन्त्री सिंहले परिवारका सदस्य, स्थानीयवासी र नागरिक समाजसँग भेटघाट गरी घटनाबारे आइतबार विस्तृत जानकारी लिनुभएको हो ।
घटनाबारे अनुसन्धान र छानविन अगाडि बढिरहेकाले सत्यतथ्य चाँडै सार्वजनिक हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री सिंहले परिवारजनलाई यस असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्ने कामना गर्नुभयो ।
स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका यादवमाथि यही साउन २० गते प्रहरीले तस्करी नियन्त्रण गर्ने क्रममा गोली चलाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको थियो ।
स्थानीयहरुले भने तस्करी नियन्त्रणको नाममा प्रहरीले यादवलाई नियन्त्रणमा लिएर गोली हानेको आरोप लगाउँदै आएको छ ।