वीरगञ्ज कारागार भवन जीर्ण : क्षमताभन्दा बढी कैदीबन्दी   

वीरगञ्ज (पर्सा), ३ भदौ :

वीरगञ्ज कारागारको भौतिक संरचना जीर्ण र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ ।

यहाँको कारागारको क्षमता एक हजार कैदी राख्ने भएता पनि अहिले यहाँ कैदी र थुनुवा गरेर एक हजार तीन सय १० जनाभन्दा बढी रहेका छन् ।

जिल्ला कारागार पर्साका प्रमुख खिमराज भुसालका अनुसार कारागारको क्षमताभन्दा धेरै कैदी र थुनुवा हुँदा व्यवस्थापनमा समस्या भएको छ । विसं २०२९ देखि वीरगञ्ज कारागार सञ्चालन हुँदै आएको रेकर्ड भेट्टिन्छ ।

पुरानो खालको संरचना तथा धेरै कैदी र थुनुवाको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

खुला ठाउँमा कारागार भएको भए व्यवस्थापनमा पनि धेरै सहज हुने थियो कि । तोकिएको क्षमताअनुसार कैदी र थुनुवा हुँदा व्यवस्थापनमा सहज हुने थियो ।

जिल्ला प्रशासन कार्यालय र कारागार व्यवस्थापनले वीरगञ्जको चिनी मिल क्षेत्रमा कारागारका लागि १८ बिघा क्षेत्रफलमा सार्ने योजना गरे पनि अहिलेसम्म मूर्तरूप लिनसकेको छैन । वीरगञ्ज कारागारमा स्वदेशी र विदेशी गरेर थुनुवा र कैदी गरेर एक हजार तीन सय १० जना रहेका छन् । यसमा स्वदेशी महिला कैदी पाँच, महिला थुनुवा ४२ र छ वर्षमुनिका दुई जना आश्रित बालिका छन् ।

त्यस्तै स्वदेशी पुरुष कैदी र थुनुवाको सङ्ख्या भने एक हजार ४६ जना रहेका छन् । त्यस्तै विदेशी थुनुवा र कैदीतर्फ एक सय ९९ छन् भने विदेशी महिला थुनुवा र कैदी भने १६ जना रहेका छन् ।

वीरगञ्ज कारागारमा विशेषगरी पर्सा र बारा जिल्लामा अपराध गरेर अदालतबाट दोषी ठहर भएका र अदालतबाट पुर्पक्ष थुनुवामा पठाएकालाई कैदी र थुनुवा राख्ने गरिन्छ । वीरगञ्ज कारागारमा कैदी तीन सय २९ जना रहेका छन् भने थुनुवा नौ सय ७९ जना छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार