वीरगञ्ज महानगरले पानी शुद्धीकरण गरेर बाँड्न थाल्यो

काठमाण्डौ – हैजा र झाडापखालाका बिरामी बढेसँगै पर्साको वीरगञ्ज महानगरपालिकाले खानेपानी शुद्धीकरण गरेर बाँड्न थालेको छ । महानगरले विभिन्न ठाउँमा राखिएका ट्याङ्कीमा ट्याङ्करमार्फत पु¥याइने पानीलाई क्लोरिन झोल र ब्लिचिङ पाउडर प्रयोग गरेर निर्मलीकरण गरी वितरण गर्दै आएको छ ।

महानगरका प्रमुख राजेशमान सिंहले खानेपानी शुद्धीकरण नै सङ्क्रमण रोकथामको सबैभन्दा महत्त्वपूर्ण उपाय भएको र नागरिकलाई पनि घरको पानी उमालेर मात्र पिउन, बासी नखान र सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताउनुभएको छ । उहाँले हैजाका बिरामीको उपचारात्मक र सचेतनामूलक गतिविधि सञ्चालन गदै आएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार अहिलेसम्म एक सय १४ जनामा हैजा पुष्टि भएको छ । झाडापखाला र हैजा पुष्टि भएका एक सय ९९ जना बिरामीको विभिन्न अस्पतालमा उपचार भैरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला लागेर उपचारका लागि भर्ना भएका बिरामीको सङ्ख्या चार सय २२ पुगेको छ । जसमध्ये उपचार गराएर दुई सय २३ जना डिस्चार्ज भएका छन् ।

महानगरपालिकाले हैजा सङ्क्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशङ्कामा पानीको नमुना सङ्कलन र प्रयोगशालामा परीक्षण प्रक्रियालाई अघि बढाएको छ । महानगरको स्वास्थ्य शाखाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा परीक्षण गरेका बिरामीको दिसाको कूल १० नमुनामध्ये आठ नमुनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । बाँकी दुई नुमनाको रिपोर्ट आउन बाँकी छ ।

हैजा फैलिएपछि वीरगञ्ज महानगरले मातहतका सबै विद्यालय थप तीन दिन बन्द गरेको छ । विद्यालयका शिक्षक र कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ । महानगरपालिकाले सरसफाइ र सचेतनामुलक कार्यक्रम गरिरहेको छ । पानी उमालेर पिउन, खुला शौच नगर्न, सरसफाइमा ध्यान दिन डाक्टरले अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार