राजविराज (सप्तरी), फाल्गुण १३ ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनको दिन नजकिंदै जाँदा उम्मेदवारहरु जनताको घर दैलोमा पुग्दा जनताले गर्ने प्रश्नहरुबाट हैरानी खेप्नु परेको छ । खासगरी विगतका प्रतिनिधि सभा सदस्यहरुलाई जनताले “५ बर्षको लागि मत दिएर पठाएको ३ बर्ष मै फेरी मत माँग्न किन आउनु भयो ।” भनी प्रश्न गर्ने गरेका छन ।
२०८४ मा हुने निर्वाचन २०८२ मै हुने भए पछि गत चूनावमा निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई यस्तो प्रश्न बढि खेप्नु परि रहेको हो ।
यसै क्रममा बुधबार प्रचार प्रसारका लागि सप्तरी क्षेत्र नं. ३ बाट गत प्रतिनिधि सभामा सोही क्षेत्रबाट निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार दिनेश कुमार यादव जनता सँग मत माग्न राजगढ़ गाउँ पालिका १ मा पुगेका थिए ।
त्यहाँका स्थानीय जनताले उनलाई पनि यही प्रश्न तेर्स्याए पछि यादवले परिस्थितिबस भोट माग्न आएको जनतालाई जवाफ दिएका छन ।
यसअघि सोही क्षेत्रबाट निर्वाचित हुनुभएका उनले पाँच बर्षको लागि मत दिएर जनताले पठाएकोमा परिस्थितिबस बीचमै भोट माग्नुपर्ने अवस्था सृजना भएको जनतालाई बुझाउन साह््रै धौ–धौ परेको बताए ।
चुनाव प्रचारप्रसारका क्रममा उनले विगतमा जनतासंग गरेको वाचा अनुसारको योजनाहरु अधुरा रहेको र त्यसलाई पुरा गर्न आफुलाई जनताले अवसर दिनुपर्ने भन्दै मतदाताको चित्त बुझाउन घर–घर पुगिरहेको धारणा राखे ।
जनता माझ जवाफ फर्काउँदै यादवले भने “तपाईंको मतले म साँसद भएँ, क्षेत्रको समग्र विकासको कुरा गरें, तपाईको सुनौलौ सपनालाई पुरा गर्ने विश्वासका साथ सँसद भित्र पसें तर, देशमा भएको न्भ्ल्–श् आन्दोलन र परिस्थितिको कारण सँसद विघट्न भयो, कार्यकाल पुरा गर्न सकिएन ।” यादवले मलाई अधुरा योजना र सपना पुरा गर्न गर्न जनताबाट भोट माग्ने हक छ र जनताले भोट दिने विश्वास व्यक्त गरे ।
सप्तरी क्षेत्र नम्बर ३ मा शम्भुनाथ–बनैनियाँ सडक, पातो–कठौना सडक र रुपनी–छिन्नमस्ता सडक बनाउने लगायतका बाचा जनता संग गरेको र सो योजनाहरु अधुरा रहेकोले आफुले चुनाव जित्नै पर्ने दावी गरे ।
२०६४ साल देखि लगातार काँग्रेसबाट यसै निर्वाचन क्षेत्रमा उम्मेदवार बन्दै आएका यादव पहिलो पटक २०७९ को निर्वाचनमा २६ हजार १ सय ६६ मत ल्याएर निर्वाचित भएका हुन । सो निर्वाचनमा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तारकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गरेका हुन ।
निवर्तमान सभासद यादवलाई यसपटकको चुनावमा जनता समाजवादी पार्टीका नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहित नेकपा एमालेबाट, ताराकान्त चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अमरकान्त चौधरी, नेपाली कम्युनिष्ट पार्टीबाट अरुणकुमार साह लगायत २२ जना उम्मेदवारले चुनौती दिँदै छन् । यस क्षेत्रमा कुल १ लाख ११ हजार ८ सय ७१ मतदाता रहेको छ ।